मधेश प्रदेशका साकोसको कुल पुँजी १५.८० प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मधेश प्रदेशका साकोसको कुल पुँजी १५.८० प्रतिशतले वृद्धि



काठमाडौं । मधेश प्रदेशमा दर्ता भएका वचत तथा ऋण सहकारी संस्थाको चालु आवको असार मसान्तसम्ममा सहकारीहरुको कुल पुँजी १५.८० प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिबिधि अध्ययनले यस्तो देखाएको हो ।

यस अवधिमा सहकारीहरुको कुल पुँजी १५.८० प्रतिशतले बढेर २ अर्ब ५४ करोड ३१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३५.७९ प्रतिशत रहेको थियो । यस अवधिमा सहकारीहरुको कुल बचत भने ५ अर्ब ८९ करोड ४३ लाख पुगेको छ । त्यस्तै, सहकारी संस्थाहरुबाट भएको ऋण प्रवाह २१.३५ प्रतिशतले वृद्धि भई ५ अर्ब ८४ करोड १९ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा ऋण प्रवाह २२.८७ प्रतिशतले वृद्धि भएको थियो ।

गत असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाका कुल सदस्य संख्या २२.५३ प्रतिशतले वृद्धि भई ६५ हजार ४ सय ७० पुगेको छ भने कर्मचारी संख्यामा ३.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा कर्मचारी संख्यामा २.११ प्रतिशतले ह्रास आएको थियो । बचत ऋण सहकारी मध्ये नमुना छनौट गरिएका १० वटा ठूला वचत तथा ऋण सहकारी संस्थाहरुको आधारमा तथ्यांक निकालिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १९ पुष २०७९, मंगलवार १४:०८