एक महिनामा बीमा पोलिसी त्याग्नेको संख्या १३.४० प्रतिशतले बढ्यो, कुन कम्पनीमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक महिनामा बीमा पोलिसी त्याग्नेको संख्या १३.४० प्रतिशतले बढ्यो, कुन कम्पनीमा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा पनि बीमा पोलिसी सरेण्डर (त्याग) गर्नेहरुको संख्या उकालो लागेको छ । बीमा प्राधिकरणका अनुसार गत असोज महिनाको तुलनामा कार्तिकमा पोलिसी त्याग्नेको संख्या १३.४० प्रतिशतले बढेको हो ।

कार्तिक महिनाको तुलनामा मंसिर महिनामा पोलिसी सरेण्डर गर्नेको संख्या बढेपनि रकम भने घटेको छ । प्राधिकरणका अनुसार मंसिरमा १९ जीवन बीमा कम्पनीका बीमितहरुले ७ हजार ६५० वटा पोलिसी त्याग गरेका छन् । साेही पाेलिसी गत कार्तिक महिनामा ६ हजार ७४६ वटा त्याग गरेका थिए ।

बीमा पोलिसी त्याग्नेको संख्या बढेपनि पोलिसी समर्पण रकम भने ९.२४ प्रतिशतले घटेको छ । मंसिरमा कुल एक अर्ब एक करोड ६२ लाख ३१ हजार रुपैंया बराबरको पोलिसी सरेण्डर भएको छ । जुन कार्तिकमा कुल एक अर्ब ११ करोड ९७ लाख ४६ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो ।

सबैभन्दा धेरै पोलिसी सरेण्डर गर्ने नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् भने, कम पोलिसी सरेण्डर गर्ने सानिमा लाइफ इन्स्योरेन्सको रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको मंसिर महिनामा २ हजार ४७२ वटा बीमालेख वापत ३३ करोड १ लाख ९८ हजार रुपैयाँको पोलीसी सरेण्डर भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५७२ वटा बीमालेख वापत १८ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ। प्राइम लाइफ इन्स्योरेन्सको १४ सय ५३ वटा बीमालेख वापत ८ करोड २३ लाख ८४ हजार रुपैंया बराबरको पोलिसी त्याग गरेका छन् ।

त्यस्तै, बीमितहरुले नेशनल लाइफको ७१० वटा, राष्ट्रिय बीमा संस्थानको ७६२ वटा, एशियन लाइफको ४८३ वटा, मेट लाइफको २८७ वटा, सूर्या लाइफको १७९ वटा, रिलायबल लाइफको १०४ वटा र गुराँस लाइफको १८६ बीमालेख त्याग गरेका छन् । बाँकी कुनै पनि कम्पनीको पोलिसी सरेण्डर संख्या १०० माथि रहेका छैनन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा उक्त कम्पनीको ३६ लाख ९६ हजार रुपैयाँ बराबरको २६ वटा बीमालेख सरेण्डर भएको छ ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १७:०७