ग्लोबल र बिओकेले पाए मर्जरको लागि अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल र बिओकेले पाए मर्जरको लागि अन्तिम स्वीकृति



काठमाडाैं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

अन्तिम स्वीकृति प्रदान गर्दै राष्ट्र बैंकले मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । दुवै बैंकको साधारणसभाले मर्जर पछि बन्ने बैंकको नाम ‘ ग्लोबल आइएमई बिओके लिमिटेड’ कायम हुने गरि प्रस्ताव पारित गरेको थियो । तर राष्ट्र बैंकले भने ग्लोबल आईएमई बैंक लिमिटेड मात्र राख्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ भने अध्यक्षमा चन्द्र ढकाल नै रहने छन् । सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।

प्रकाशित : १७ पुष २०७९, आईतवार १०:४९