विदेशबाट एउटा मोबाइल ल्याउँदा भन्सार तिर्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

विदेशबाट एउटा मोबाइल ल्याउँदा भन्सार तिर्नु नपर्ने



काठमाडाैं । विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने थप एउटा मोबाइल सेटमा भन्सार शुल्क नलाग्ने भएको छ। सरकारले विदेशबाट थप एउटा मोबाइल सेट ल्याउँदा भन्सार शुल्क लिने निर्णय गरेको थियो ।

यसको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भन्सार शुल्क नलिन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको निर्देशनपछि विदेशबाट फर्किंदा नेपालीहरुले दुईवटा मोबाइल सेट ल्याउन पाउने व्यवस्थाले निरन्तरता पाएको छ ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट आउने नेपालीले आफूसँग ल्याउने अतिरिक्त नयाँ मोबाइल सेटमा भन्सार नलिन निर्देशन दिइसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो।

विदेशमा रहेका नेपालीले फर्कंदा एकथान मोबाइल ल्याउन १८ प्रतिशत कर लिन लागेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै यसको विरोध जनाउँदै आएका छन् ।

उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका थिए ।

प्रकाशित : १५ पुष २०७९, शुक्रबार ०३:४८