गृहमन्त्रालयद्वारा आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गृहमन्त्रालयद्वारा आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन



काठमाडौं । गृहमन्त्रालयले आफूखुसी राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।’

साथै, उक्त निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १४:०३