तपाईंको खाता पेन्डिङमा छ । ब्लक हुँदैछ । यसलाई ओपन गर्नलाई तपाँइले खाता नम्बर र ओटीपी नम्बर पठाउँनुपर्छ भन्यो । उसले भने अनुसार खाता र वान टाइम पासवर्ड नम्बरको सक्रीनसर्ट गरेर पठाइदिए । आधा घण्टापछि २ लाख २० रुपैयाँ झिकेको म्यासेज आयो ।
तुलसीपुर १३ पुस । ज्ञानबहादुर चौधरी पसलमा ग्राहक कुरेर बसिरहेका थिए । किनकी उनको तुलसीपुरको बसपार्कमा श्रीराम किराना पसल छ । ९ बजेर ४९ मिनेट जाँदा मोबाइलको म्यासेन्जरमा ट्याङ घण्टी बज्यो । एनआईसी एशिया बैंकको म्यासेन्जर च्याटबाट हेलो सर भन्ने म्यासेज आयो । सोही बैंकका ग्राहक समेत रहेका चौधरीले पनि प्रतिउत्तरमा हजुर सर भने । म एनआईसी एशिया बैंकदेखि हो । तपाईंको समस्या छ । मोबाइल नम्बर दिनुस् भन्ने म्यासेज आयो । प्रतिउत्तरमा चौधरीले मेरो कुनै समस्या छैन भने । तपाईँको खाता पेन्डिङमै छ । अपडेट गर्नुपर्छ भनेर फेरि उताबाट म्यासेज पठायो । त्यसपछि चौधरीले विश्वासका आधारमा ९८४७८१३८९९ मोबाइल नम्बर दिए । लगत्तै चौधरीलाई फोन आयो । म एनआईसी एशिया बैंकबाट हो । तपाईंको खाता पेन्डिङमा छ । ब्लक हुँदैछ । यसलाई ओपन गर्नलाई तपाँइले खाता नम्बर र ओपिटी नम्बर पठाउँनुपर्छ भन्यो । उसले भने अनुसार खाता र वान टाइम पासवर्ड नम्बरको सक्रीनसर्ट गरेर चौधरीले पठाइदिए । आधा घण्टापछि २ लाख २० रुपैयाँ झिकेको म्यासेज आयो । अपरिचित व्यक्तिको झुक्यानमा परेका चौधरीको एकाएक दुई लाख रुपैयाँ गायब भएपछि आफूले खाता खोलेको बैंक एनआईसी एशिया बैंकमा पुगे ।
त्यहाँ पुग्दा सिटिजन बैंकमा पैसा ट्रान्सफर भएको देखायो । त्यसपछि उनी इलाका प्रहरी कार्यालयमा पुगे । त्यहाँ ठाडो निवेदन दिएर चौधरी प्रहरीसँगै सिटिजन बैंक पुगे । त्यहाँबाट नबिल बैंकमा ट्रान्सफर भएको देखायो । त्यहाँबाट पनि उनी नबिलमा गए । त्यहाँबाट पनि बैंक अफ काठमाण्डौमा ट्रान्सफर भएको देखायो । बैंक अफ काठमाण्डौमा पुग्दा ३ बजिसकेको थियो । तर त्यहाँ बन्द भएको भन्दै भित्र प्रवेश गर्न दिइएन र उनी त्यहाँबाट फिर्ता भएकाे खबर तुलसीपुर खबर डटकममा प्रकाशित छ । मंगलबार दिनभर बैंक र प्रहरीमा ओहरदोहर गरेका चौधरी बुधबार भने १० बजेदेखि प्रहरीको चिठ्ठीका आधारमा तीन पुस्ते विवरणको रकम ट्रान्सफर भएका बैंकहरूमा पुगेका छन् । उनका अनुसार सोही पैसा एभरेष्ट, मेगा र पुनः एनआईसी एशिया बैंकमा ट्रान्सफर भएको देखाएको छ ।
के भन्छ प्रहरी ?
ग्राहकको सुरक्षाका लागि बैंकहरु नै जिम्मेवार हुनुपर्ने प्रहरीले बताएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षा जोखिमका विषयमा जानकारी नगराउँदा यस्तो समस्या बढ्न थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए । ‘जुन बैंकका सेवाग्राही ठगिएका छन् । ती बैंकहरुले आफ्नो हेड अफिसमा कुरा गरेर साइबर व्यूरो प्रहरी मार्फत कारबाही गर्नसक्छन् । आफ्नो ग्राहको सुरक्षा गर्नु उनीहरूको पनि दायित्व हो । तर उनिहरु प्रहरीलाई सिकाएर पन्छिने काम गरिरहेका छन् ।’ यो राम्रो कुरा होइन प्रवक्ता डिएसपीले भने ।
अनलाइन सेवा दिनेले यसको सुरक्षा चुनौतिका विषयमा पनि ग्राहकलाई जानकारी दिनुपर्छ । वान टाइम पासवर्ड, पिन नम्बर लगाएत गोप्य नम्बरहरु कसरी सुरक्षीत गर्ने भन्ने विषयमा ग्राहकलाई जानकारी गराउनुपर्छ । बैकीङ प्रणालीमा समेत सुधार गर्नुपर्छ । अंग्रेजीमा आउने एसएमएसलाई नेपालीमा आउने बनाउनुपर्छ । सबैले अंग्रेजी जानेको हुन्छ भन्ने छैन् । प्रवक्ता गौतले भने ।
Comment