शेयर बजारमा उछाल , करिब चार अर्बकाे कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजारमा उछाल , करिब चार अर्बकाे कारोबार



काठमाडौं । नयाँ अर्थमन्त्री आएसंगै शेयर बजारमा रौनक आएको छ । साताको तेस्रो कारोबार दिनमा बजार ५९.८७ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका २६१ कम्पनीको एक करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ कराेड ४३ लाख ९६ हजार रुपैयाकाे काराेबार भएकाे छ । अघिल्लाे दिनकाे तुलनमा निकै बृद्धि भएको छ । साेमबार २ अर्ब ९ कराेड ७० लाख रुपैयाबराबरकाे काराेबार भएकाे थियाे ।

आज सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ३५.०७, विकास बैंक १००.३९, वित्त कम्पनीको ६७.७३, जलविद्युत ९५.३५, जीवन बीमा ३७२.२१, उत्पादन तथा प्रशोधन ७२.३७, माइक्रोफाइनान्स ५५.५६, निर्जीबन बीमा २८३.४२, ट्रेडिङ समूहको उपसूचक५३.३२, अन्य समुहको ३७.०१ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज ६ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पाेज फाइनान्स कम्पनी, अजोड इन्स्योरेन्स,श्रृजनशील लघुवित्त, धौलागिरी लघुवित्त, कालिका पावर रहेका छन् । त्यस बाहेक अन्य चार वटा कम्पनीको शेयरमूल्य पनि ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबीएल डिबेञ्चरको कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २० करोड ९४ लाख ९० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १२ पुष २०७९, मंगलवार १५:३०