काठमाडौं । राइड सेयरिङ कम्पनी ‘इनड्राइभ’ नेपालमा विधिवत् दर्ता प्रक्रियामा प्रवेश गरेको छ । ‘इनड्राइभ’ले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रिया थालेको थियो भने नोभेम्बर १७, सन् २०२२ मा आवश्यक विदेशी लगानी आवेदन पनि उद्योग विभागमा बुझाएको छ ।
इनड्राइभले विज्ञप्ति जारी गर्दै हामी देशमा पूर्णरूपमा नियम कानुन पालना गर्न सक्दो प्रयास गरिरहेका छौं । यद्यपि, संस्था दर्ता प्रकृयाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको जनाएको छ ।
त्यस्तै, विज्ञप्तीमार्फत कम्पनीको रूपमा आफूहरुले कुनै आम्दानी र नाफा नकमाउने र चालकबाट कुनै कमिसन नलिने पनि इनड्राइभले प्रस्ट पारेको छ ।
‘यसबाहेक इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थ व्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इनड्राइभको साथ नेपाली चालकहरूले पैसा कमाउने अवसर पाउँछन् जबकि सबै नेपालीहरूले आफ्नो दैनिक सवारीमा यात्रागर्दा आफ्नो पैसा बचत गर्न सक्छन् ।’
सुरक्षालाई इनड्राइभमा सबैभन्दा प्राथमिक चासो र चिन्ताको विषय मानेर यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरेको जनाइएको छ ।
त्यस्तै ‘हाम्रो एपले आफैमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधाहरू पनि समावेश गर्दछ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सिधै जोडिनसक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा चालकहरूलाई हाम्रा यात्रुहरूलाई सेवा प्रदान गर्न अनुमति दिनुअघि हाम्रो कोर टोलीले राम्ररी जाँच र प्रमाणीकरण गरेको छ ।’
सरकारी निकायहरुले दर्ता प्रकृयालाई सहज र तीब्रता प्रदान गर्ने अपेक्षा गरिएको पनि इनड्राइभले जनाएको छ । इनड्राइभ दर्ता बिनै सञ्चालनमा आएको भन्दै प्रश्न उठ्न थालेपछि कम्पनीले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।
Comment