सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान



काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ।

जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल राष्ट्र बैंक जनकपुरकी निर्देशक निरा ताल्चा भडेँल र अन्य अतिथिहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोनपेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख विश्वासराज अर्याललगायत बुद्धिजीवी, टेम्पु व्यवसायी र विभिन्न कलेजका विद्यार्थीको उपस्थिति थियो।

उपमेयर साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको थियो।

डिजिटल इको सिस्टमको अवधारणास्वरुप दैनिक जीवनमा गर्ने स–साना खर्चहरु जस्तै– टेम्पो भाडा, मन्दिरमा भेटी, पानीपुरी, जुत्ता मर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानीदेखि ठूला खर्चहरुको भुक्तानी जस्तै– सभाहलको भाडा तथा सबै प्रबन्धको भुक्तानी क्यूआर कोडबाट नै गरिएको थियो।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्यूआर कोडसम्बन्धी प्रस्तुति गरिएको थियो। त्यसका साथै ट्राफिक जनचेतना बढाउनका लागि पनि प्रस्तुति गरिएको थियो।

कार्यक्रममा उपमेयर साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुआत गर्न पाउँदा आफू खुसी भएको बताए। उनले नगदरहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागि विदेशिने ठूलो धनराशिको सञ्चय हुने कुरा पनि बताए।

‘यो अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टम कै विकास गर्नुपर्नेमा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्म तथा शौचालयको शुल्कसमेतका कारोबारहरु डिजिटल रुपमा क्यूआर कोडमार्फत भुक्तानी गर्यौं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जानेमा दुईमत छैन’, सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्टले भने।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुसम्म गरी ४१ हजारभन्दा बढी क्यूआर मर्चेन्टलाई आबद्ध गरिसकेको बैंकले जनाएको छ।

प्रकाशित : ३ पुष २०७९, आईतवार १४:२६