शाखारहित बैंकिङ कारोबार गर्दा पाँच विषयमा सजग रहन राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

शाखारहित बैंकिङ कारोबार गर्दा पाँच विषयमा सजग रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङ्ग सेवामार्फत् कारोबार गर्दा ध्यान दिन आग्रह गरेको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरी शाखारहित बैंकिङ्गमा बेथिति बढेर ठगीका घटना बढेपछि सर्वसाधारणलाई विभिन्न पाँच विषयमा सजग रहन आग्रह गरेको हो।

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

बैंकिग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा मुख्य पाँच वटा विषयमा विशेष ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ । त्यस्तै, सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

त्यसैगरी, कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकीन गर्नुपर्नेछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोवारको यकीन गर्न सकिने राष्ट्र बैंंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार शाखारहित बैंकिङ्ग कारोवारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भए–नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकीन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए–नभएको तुरुन्त यकीन गर्नुपर्दछ ।

त्यसैगरी सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको गुनासो सुनुवाई पार्टलमा जानकारी गराउन समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार १२:५० 30 November, 2022 12:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।