मर्जर प्रस्ताव पारितका लागि एनसीसी बैंकले बोलायो विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जर प्रस्ताव पारितका लागि एनसीसी बैंकले बोलायो विशेष साधारण सभा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।

मर्जर प्रकृया पुरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजना लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको शेयर कारोबार भने गत असोज ११ गतेदेखि रोक्का रहेको छ ।

एकै दिन कारोबार रोक्का भएको कुमारी बैंकको शेयर कारोबार आइतवारदेखि फुकुवा हुदैंछ भने बिहीवारसम्म एनसीसी बैंकको शेयर कारोबार फुुकुवाको सुचना सार्वजनिक भएको छैन् । बैंकले मंसिर १५ गते बुक क्लोज गरेको आधारमा त्यस अघिनै कारोबार खुला गर्ने तयारी रहेको बुझ्न सकिन्छ ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार ११:१२