लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंकबीच सम्झौता



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडबीच सम्झौता भएको छ । आफ्नो इलेक्ट्रिक भेहिकलका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि ग्राहकहरूले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल आइएमई बैंकमार्फत १२.९९% ब्याजदरमा फाइनान्स गर्न सक्नेछन् । यो योजना अन्तर्गत खरिद गरिएका सवारी साधन ३ दिन भित्रमा उपलब्ध गराइनेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर पूरा गरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

ग्राहकहरूले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाईको KONA / IONIQ 5 नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन्। यो सम्झौतासँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन् ।

हुन्डाई मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो “Be (v) the change” अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजनाहरू अगाडि बढाएको छ ।

ग्लोबल आईएमई बैंक संग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारी प्रेमीहरूलाई सवारी साधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १५:४१