मोरङ । ‘मेरा लागि यो अन्तिम चुनाव हो । पाँच वर्षपछि मलाई चुनाव लड्न मैदानमा आउनु छैन । राजनीतिक भविष्य आउने पुस्ताका लागि पनि सुनिश्चित गर्नुपर्छ,’ कांग्रेस नेतृ सुजाता कोइराला भन्दै थिइन् । उनको निर्वाचन क्षेत्र मोरङ–२ पुग्दा कोइरालालाई स्थानीय नेताहरूले घेरेका थिए । कोइराला प्रत्यक्षबाट चुनाव लड्न पहिलोपटक मोरङ झरेकी हुन् । तर, संसद् यात्रा उनको पहिलो भने होइन । ०७० को संविधानसभा सदस्य र ०७४ मा उनी समानुपातिक सांसद बनेर उनले संसद्को यात्रा गरिसकेकी छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री बनेर राज्यसञ्चालनको अनुभवसमेत उनले बटुलिसकेकी छन् । बढ्दो उमेर र स्वास्थ्य प्रतिकूलताका कारण आफ्ना लागि यो अन्तिम चुनाव भएको उनी बताउँछिन् । कांग्रेसको राजनीतिमा सबैभन्दा लामो समय सभापतिको रूपमा नेतृत्व गरेका तथा ०६२÷०६३ को जनआन्दोलन र शान्ति प्रक्रियाको नेतृत्व गरेका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी हुन्, सुजाता । अहिले चुनाव लड्न उनी बाबुकै विरासत भएको निर्वाचन क्षेत्रमा आएकी छन् ।
‘निर्वाचन क्षेत्रममा लागेको लाग्यै, हिँडेको हिँड्यै गरेँ । हामीले जितेको प्रदेशमा माओवादीले टिकट पाएको छ । यसले असन्तुष्टि पैदा ग¥यो र यहाँ बागी उमेदवार पनि उठे,’ उनले सुनाइन्, ‘मिलाउन समय लाग्यो । बल्ल गठबन्धन जिताउने नारा लाग्न थालेको छ ।’ सुजाताको निर्वाचन क्षेत्रमा रतुवामाई नगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र कानेपोखरी गाउँपालिकाका वडाहरू समेटिएका छन् ।
यही क्षेत्रबाट ०७४ मा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले टिकट लिए । जिते पनि । ९१ जना उमेदवारमध्ये कांग्रेसले पाँच महिलालाई मात्र प्रत्यक्षमा उम्मेदवार बनाएको छ । जसमध्ये एक हुन्, सुजाता । टिकट पाएर यहाँ आउनेबित्तिकै गठबन्धन भन्दा पनि आफ्नै पार्टी मिलाउनुपरेको दुखेसो उनको छ । आफूले जनजीविकासँग जोडिएको काम गर्न चाहेको र महिलाहरूबाट तुलनात्मक रूपमा बढी सहयोग पाइरहेको उनको भनाइ छ ।
उनलाई पुराना कांग्रेसीहरूले सहयोग गरेका छन् । बाबुको राजनीतिलाई उचाइमा पु¥याउन मतदान गर्ने मतदातामा सुजाताले उत्साह थपेकी छन् । एक पूर्वसरकारी कर्मचारी पनि यो क्षेत्रले सुजातालाई मतदान गर्नेमा ढुक्क छन् । ‘म यहाँको प्रायः घरसँग परिचित छु र गठबन्धनलाई सहयोग गर्छु । उहाँले चुनाव जित्ने सम्भावना छ । उहाँको बुबाको लिगेसी एउटा निर्णायक हुनेछ,’ ती पूर्वसरकारी कर्मचारीले भने । सुजातालाई पनि यसैले आत्मविश्वास बढाएको छ । उनी ३० प्रतिशत मत बाबुको योगदानबाट आउने दाबी गर्छिन् । आफूले पनि राजनीतिमा योगदान दिएको र गठबन्धन पनि भएकाले उनी जित्नेमा विश्वस्त देखिन्छिन् ।
पुराना पुस्ताले विरासतको मियोलाई प्राथामिकता दिएपनि मतदाता एकैनासका छैनन् । प्रविधि तथा सामाजिक सञ्जालमा युवा जमातको क्रेजमात्र बढेको छैन, निर्णायक शक्ति पनि उनीहरू नै बन्दैछन् । कोइराला परिवारको राजनीतिक योगदान र सुजाताको पहिचानलाई युवा पुस्ताले कति बुझ्छ र मतदान गर्छ भन्ने प्रश्न जटिल छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार ६ निर्वाचन क्षेत्र भएको मोरङमा मात्र ९० हजार बढी मतादाता थपिएका छन् । थपिएको मतादाताको अंश कोइरालाको क्षेत्रमा पनि पर्छ । जुन निर्णायक मत हो ।
०७४ मा जितेका मीनेन्द्र रिजालले सहयोग नगरे सुजातालाई सहज नहुने कोइरालासँगै हिँडेका नेताहरू पनि स्वीकार गर्छन् । कांग्रेसभित्र आन्तरिक किचलो छ ।
कोइराला–रिजाल सहकार्य नभए यहाँ चुनावी परिणाम एमालेको पक्षमा जाने भय कार्यकर्तामा छ । त्यसका लागि कोइरालाले नै रिजाल र उनी निकट मानिएका नेता कार्यकर्तालाई विश्वासमा लिन सुजाताले प्रयास गर्नुपर्ने तर्क गरे । केही आमसभासँगै नगरे परिस्थिति सुजाताको पक्षमा नआउने र चुनाव हार्न सक्नेसम्मको तर्क उनको छ । सुजाता भने तरुण दल, नेविसंघलाई परिचालन गरेर चुनावी मैदानमा पठाइसकेको बताउँछिन् । उनी पार्टीबाट असहयोग नहुने भन्दै चुनावी मोर्चामा मीनेन्द्र पनि आफूसँगै उभिने बताउँछिन् ।
०७४ सालको निर्वाचनमा मीनेन्द्र ३५ हजार ८१९ मतसहित विजयी भएका थिएं । जबकि यहाँ वाम गठबन्धन हुँदा पनि एमाले उमेदवारले ३४ हजार १४ मत प्राप्त गरेका थिए । गत स्थानीय तह निर्वाचनमा एमालेले क्षेत्र नम्बर २ का वडाहरूबाट ३१ हजार ३४० मत ल्याएको थियो । कांग्रेसले २८ हजार ६१४ मत पाएको थियो । माओवादी केन्द्रले सात हजार २७१ र जसपाले ४ हजार ३४६ मत ल्याएको थियो ।
Comment