आठ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आठ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?



काठमाडौं । आर्थिक वर्ष २०७८/०७९को मुनाफाबाट हालसम्म नेप्सेमा सूचिकृत ८ वटा वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन । यसमध्ये कसैको साधारणसभा सम्पन्न भएर लाभांश पनि पारित भइसकेको छ भने कुनैको सभा गर्ने तयारीमा छन् ।

हालसम्म लाभांश घोषणा वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन् ।

यस पटक लाभांश घोषणा गरेकामध्ये धेरैले नगदलाई प्राथमिकता दिएका छन् । हालसम्म सबै भन्दा बढी लाभांश घोषणा गर्नेमा बैंक अफ काठमाडौ र एभरेष्ट बैंक रहेका छन् भने कम लाभांश दिनेमा सिटिजन्स बैंक रहेको छ ।

हालसम्म लाभांश घोषण गरेका ९ बाणिज्य बैंकहरु

१. बैंक अफ काठमाण्डू (बीओके)

बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । बैंकले हालसम्म साधारण सभा र बुकक्लोज मिति तोकेको छैन ।

२. एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ का मुनाफाबाट चुक्तापुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) छन्। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

३. स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकहरुको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। बैंकले हालसम्म साधारण सभा र बुकक्लोज मिति तोकेको छैन ।

४. ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको हाल कायम चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँबराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ।

५. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बाईसौँ वार्षिक साधारण सभा आज सोमबार बस्दै छ । साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको छ ।

६. नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)

एनसीसी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) प्रस्ताव गरेको छ। एनसीसीको वार्षिक साधारणसभा आगामी मंसिर २ गते हुँदैछ। सोही प्रस्तावित लाभांश सभाले पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको छ ।

७. सानिमा बैंक

सानिमा बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र नगद लाभांश ०.९८ बाँड्ने छ। बैंकले हालसम्म साधारण सभा र बुकक्लोज मिति तोकेको छैन ।

८. सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गरेको छ । सिटिजन्सले प्रस्तावित लाभांश साधारणसभाबाट पारित गरी आफ्ना सेयरधनीहरुको खातामा खातामा पठाइसकेको छ।

*यस अघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याइएको छ । सम्पादक

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १४:१५