लाभांश पारित सहित कुमारी बैंकको साधारणसभा आज, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश पारित सहित कुमारी बैंकको साधारणसभा आज, यस्ता छन् एजेण्डा



काठमाडौं । कुमारी बैंकले आज कार्तिक २१ गते २२औं वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ । उक्त सभा सोमबार नक्साल स्थित कार्यालयमा हुनेछ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२ दशमलव ५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात शेयरधनीहरुले पाउनेछन् । कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् त्यसकारण बैंकको कारोबार रोक्का रहेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/८० को लागि वाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५१०(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डिीडए नियुक्ति गर्न, निजलाई भुक्तानी गर्न पारिश्रमिक तोक्ने लगायतका प्रकृया अबलम्बन गरी अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गरिसकेको छ । सो मिति भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ०७:५९