काठमाडौं ३ मा चालिसेको प्रभाव वढ्दो, एमालेलाई साख जोगाउने चुनौती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

काठमाडौं ३ मा चालिसेको प्रभाव वढ्दो, एमालेलाई साख जोगाउने चुनौती



काठमाडौ । काठमाडौं ३ मा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सन्तोष चालिसेले चुनावी अभियानलाई तीव्रत दिएका छन् । अघिल्लोपटक एमालेले जित हासिल गरेको काठमाडौं ३ मा यसपटक गठबन्धनको पक्षमा जनमत खुलेको छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको मतपरिणामलाई आधार मान्दा सत्ता गठबन्धनको प्रभाव वढ्दो छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै माओवादी केन्द्रबाट उम्मेदवार बनेका बद्री बजगाइँको उम्मेदवारी माओवादी केन्द्रले निष्क्रिय पारेसँगै चालिसेको सम्भावना बलियो बनेको छ ।

यस क्षेत्रमा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २ र ३ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ पर्छ । गोकर्णेश्वरमा कांग्रेसबाट निर्वाचित दिपक कुमार रिसाल मेयर छन् । कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसकै उपेन्द्र कार्की मेयर छन् । त्यस्तै काठमाडौं महानगरपालिकाको वडा नं. ६ वडामा नेपाली कांग्रेसले जितेको छ ।

कांग्रेस उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । यस क्षेत्रमा प्रतिनिधिसभातर्फ २३ जना उम्मेदवार छन् । कांग्रेससले निर्वाचन क्षेत्र रहेको तीनमध्ये दुई स्थानीय तहको मेयर नेतृत्व आफ्नो रहेको, उम्मेदवार आफैं धेरै मतदाता रहेको पालिकाको पूर्वमेयर भएको लगायतलाई पनि चुनाव जित्ने आधारको रुपमा प्रस्तुत गरेको छ । चालिसे सुन्दरीजल क्षेत्रभित्रको बस्तीको समस्या, सुकुम्बासीका समस्या, पर्यटन क्षेत्र विकास गर्ने, युवा स्वरोजगार लगायतका समस्या प्राथमिकतामा राखेको बताँउछन् ।

‘मेयर हुँदा स्थानीय सरकार प्रमुखका हिसाबले गर्नुपर्ने विकासका विभिन्न परियोजना सम्पन्न गरेँ । यस क्षेत्रमा मैले व्यापक काम गरेको छु, जनता खुसी छन् । यो ठूलो आधार हो,’ उनी भन्छन, ‘सुन्दरीजल क्षेत्रभित्रको बस्तीको समस्या, सुकुम्बासीका समस्या, पर्यटन क्षेत्र विकास गर्ने, युवा स्वरोजगार लगायतका समस्या हल गर्ने विषय मेरो प्राथमिकतामा छन् ।’

मुख्य प्रतिस्पर्धा हुने मानिएको एमालेका उम्मेदवार कृष्ण राईले २०७४ को निर्वाचनमा आफ्नै दलले पाएको सफलता र स्थानीय तहको निर्वाचनमा पनि धेरै वडा जितेका आधारमा फेरि जित्ने दावी गर्दै आएका छन् । उनी पार्टीले लिने नीति र त्यसका आधारमा तयार गरिने घोषणापत्र नै आफ्नो एजेन्डा भएको बताउँछन् । ‘हामीले त समृद्ध नेपाल, सुखी नेपाली भनेका छौं । यसले धेरै विषय समेट्छ,’ उनको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा एमाले विजयी भएको थियो । एमालेका राईले १९ हजार १६९ मत ल्याएका थिए भने कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । तर, एमालेलाई विगतको निर्वाचनको आधार मात्रै निर्वाचन जित्न पर्याप्त छैन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राई एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार थिए । तर, यो परिदृष्य स्थानीय तह निर्वाचनसँगै परिवर्तन भइसकेको छ । स्थानीय तह निर्वाचनदेखि कांग्रेस माओवादी सहितका दलको गठबन्धन छ । अर्को कमजोर पक्ष एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी पनि एमाले हराउन लागिपरेको अबस्था छ ।
यस क्षेत्रमा ५८८८९ मतदाता छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ तर्फ २०७४ मा निर्वाचित भएका कांग्रेसका निवर्तमान सांसद छिरिङ दोर्जे लामाले दोहो¥याएर उम्मेदवारी दिएका छन् । चालिसे यस क्षेत्रमा शालिन र सशक्त राजनीतिज्ञका रुपमा परिचित छन् । यस क्षेत्रमा बिशेषगरी गोकर्णेश्वर नगरपालिका–१ को निकुञ्ज क्षेत्रभित्र आवतजावत गर्न पनि राष्ट्रिय निकुञ्जको अनुमति लिनुपर्ने, बस्तिममा वन्यजन्तु लगायतको समस्या छ । बागमती सफाइ, किसानको मुआब्जा लगायगका समस्या छन् । चालिसेले बागमती सभ्यता संरक्षण र सरसफाइका लागि गोकर्णेश्वर मा ‘धाप ड्याम ’ को निर्माण सम्पन्न गर्न समेत पहल गरेका थिए ।
साथै गोकर्णेश्वरमा निर्माणको चरणममा रहेको मेलम्ची खानेपानी आयोजनाको विकल्प र बागमतीमा सदाबहार सफा पानी बगाउने उद्देश्यले निर्माणको चरणमा रहेको ‘नागमती ड्याम’ को योजनाको कार्यान्वयन र सफल बनाउन समेत भूमिका खेल्दै आएका छन् ।

प्रकाशित : २० कार्तिक २०७९, आईतवार ११:४८