निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरे ।

समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले भारत सरकारबाट प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने बताए। उनले यसअघिका निर्वाचनमा पनि भारत सरकारले सहयोग गर्दै आएकोसमेत स्मरण गरे । उक्त समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार १२:०५ 4 November, 2022 12:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।