एनसीसी बैंकले बोलायो साधारणसभा,११ प्रतिशत लाभांश पारित गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनसीसी बैंकले बोलायो साधारणसभा,११ प्रतिशत लाभांश पारित गर्दै



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक ४ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष वितरणको लागि प्रस्ताव गरेको ११ प्रतिशत लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउनेछ । बैंकले हाल कायम चु्क्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजारको आधारमा ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ६३३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाका लागि तय गरेको छ ।

बोनस शेयर वितरणपछि बैंकको पूँजीबृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने बैंकले जानकारी दिएको छ । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का रहेको छ । यसर्थ असोज ११ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई नियमानुसार बैंकको शेयर रजिष्ट्रार सनराईज क्यापिटलमा कात्तिक १५ गतेसम्म शेयर दर्ता कितावमा कायम शेयरधनीहरूमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १२:५२