एक बर्षमा ८ अर्ब ५२ करोड बराबरको धितोपत्र निष्काशनका लागि अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक बर्षमा ८ अर्ब ५२ करोड बराबरको धितोपत्र निष्काशनका लागि अनुमति



काठमाडौं । एक बर्षमा नेप्से सूचकाङ्क ९०१.९ अंकले गिरावट आएको छ । गतबर्ष भदौ मसान्तमा २८१२.३ रहेको नेप्से सूचकाङ्क चालु आवको भदौ मसान्तमा १९१०.४ कायम भएको हो ।


केहिसमयदेखि ओरालो लागेको पुँजीबजारमा घट्ने क्रम जारी रहेको छ भने धितोपत्र बजार पुँजीकरण पनि घट्ने क्रममै छ । गतबर्ष भदौ मसान्तमा बजार पुँजीकरण ३९३५ अर्ब ७४ करोड रहेकोमा चालु आवको दास्रो महिना भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण २७४४ अर्ब ८८ करोड कायम भएको छ ।

यस अबधिमा नेप्सेमा सूचिकृत कम्पनीको संख्या भने बढेको छ । चालु आवको भदौसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।

यो संख्या गत बर्ष भदौमा २२० मात्रै रहेको थियो । त्यस्तै, सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ ।


त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ११.१ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आवको भदौसम्ममा सूचीकृत ६ अर्ब ८१ करोड शेयरको चुक्ता मूल्य ६७१ अर्ब १४ करोड रहेको छ । साथै, आर्थिक वर्ष २०७९/८० को दुई महिनामा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ८ अर्ब ३१ करोड बराबरको बोनस शेयर, ५ अर्ब ३९ करोड बराबरको साधारण शेयर, ३ अर्ब २७ करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड बराबरको हकप्रद शेयर गरी कुल ७६ अर्ब ६२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

यस अबधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, ९५ करोड बराबरको हकप्रद शेयर र १८ करोड बराबरको साधारण शेयर गरी कुल ८ अर्ब ५२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १४:५३