आज महानवमी, सिद्धिदात्रीको पूजा तथा आराधना गरिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज महानवमी, सिद्धिदात्रीको पूजा तथा आराधना गरिँदै



काठमाडौं । आज आश्विन शुक्ल नवमी । महानवमी दिन आज नवदुर्गामध्ये सिद्धिदात्रीको आह्वान गरी यो पर्व मनाइदैछ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपिठमा लगेर चढाइन्छ ।

आजैका दिन हनुमान ढोकामा रहेको दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्भागवत एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरूले भने आज आ–आफ्नो कुल परम्परा अनुसार जटा नरिवल, कुभिण्डो, घिरौँला, मूला, काँक्रो बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ मनाइन्छ । आजैका दिन कतिपय शक्तिपिठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइ गर्नुका साथै कोतपूजा र निसान पूजा पनि गरिन्छ । यस अवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

प्रकाशित : १८ आश्विन २०७९, मंगलवार ०८:२२