अब बिजुली बेच्ने जमाना गयोः अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब बिजुली बेच्ने जमाना गयोः अर्थमन्त्री शर्मा



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतकाे विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाएका छन् । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाएका हुन ।

मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै बिजुली बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताए । उनले बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ‘सिक्स जी’ मा विकास भएको भए पनि नेपालले दुई ‘जी’ का कुरा गरिरहेको बताए ।

उनले भने , ‘अहिले बिजुली बेच्नुपर्छ भन्ने छलफल भएको छ । बिजुली बेच्ने हो कि प्रयोग गर्ने हो ? हामीले बिजुली बेच्न पाए गर्व गर्छाैँ । अब बिजुली बेच्ने जमाना गयो । बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आइसक्यो । विश्वमा ६ जीको कुरा आइसक्यो, हामी दुई जीका कुरा गरिरहेका छौँ । हाम्रो सोचाइ साँघुरो छ ।’

कार्यक्रममा बाेल्दै मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताए। पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको उनको भनाई ।

प्रकाशित : 9 September, 2022 5:44 pm