काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरन्तर घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको पाचौं दिन आज बिहीबार पनि नेप्से २.१३ अंकले घटेर एक हजार ९ सय ३७ दशमलब ३४ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८अंक घटेको छ । साथै, आज सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०२ अंक बढेको छ।
त्यस्तै, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने बृद्धि भएको छ । नेप्सेमा एक अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार नेप्सेमा ८२ करोड ६२ लाखको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका २२७ कम्पनीहरुमध्ये ११७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६१ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १० कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये नेप्सेमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र मल्टिपर्पाेज फाइनान्स कम्पनीको शेयर ४ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार सामुदायि लघुवित्त वित्तिय संस्थाको शेयर आज सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज १३ करोड १० लाख ४५ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment