बालेनको निशानामा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बालेनको निशानामा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे



काठमाडाैं । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)को निशानामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि परेका छन् । सम्पत्ति कर दाखिला नगरी अस्पताल चलाईरहेका मुख्यमन्त्री पाण्डेलाई महानगरपालिकाले १० दिनभित्र सम्पत्ति कर दाखिला गर्न अल्टिमेटम नै दिएको छ ।

मेयर शाहको निर्देशनमा महानगरपालिकाका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे सहितको शेयर रहेको मनमोहन अस्पताललाई १० दिन भित्र सम्पत्ति कर तिर्न अल्टिमेटम दिएका हुन् ।

मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालमा मुख्यमन्त्री पाण्डे, डा. बंशिधर मिश्र, पूर्व समाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी लगायतको शेयर छ । नेपालको मेडिकल शिक्षामा सहकारीका माध्यमबाट अगाडि बढाउने एउटा ‘ड्रिम प्रोजेक्ट’ मानिएको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल अहिले पूर्णतया समस्याग्रस्त छ । महानगरले खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतसँग कर बुझाउन पत्राचार गरेको हो ।

यस्तै महानगरले ह्वाईड फिल स्कुल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थानलाई पनि सम्पत्ति कर बुझाउन भनेको छ । यस्तै आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेण्टल कलेजलाई कर बुझाउन पत्र काटिएको छ ।पत्र प्राप्त भएको मितिले बढीमा १० दिनभित्र वडा कार्यालयमा नियमानुसारको कर र सो को जरिवाना पनि बुझाउन भनिएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार ११:३०