सेञ्चुरी बैंक प्राप्ती गर्न प्रभु बैंकलाई सैद्धान्तिक स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेञ्चुरी बैंक प्राप्ती गर्न प्रभु बैंकलाई सैद्धान्तिक स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको भदौ १५ गतेको सञ्चालक समितिको बैठकले प्रभु बैंकलाई सेञ्चुरी बैंक प्राप्तीका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच साउन १५ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्राप्ती सम्बन्धी सम्झौता गरेसँगै नेप्सेले सेञ्चुरी बैंकको मात्र शेयर कारोबार साउन १६ गतेदेखि रोक्का राखेको छ । यी दुई बैंकबीच एक बराबर एक शेयर आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ती सम्बन्धी सम्झौता भएको थियो ।

प्राप्तीका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा भई एकिकृत कारोबार पश्चात सेञ्चुरी बैंकका शेयरधनीहरूले प्रभु बैंकको नामबाट शेयर कारोबार गर्न पाउनेछन् ।

हाल प्रभु बैंकको चुक्तापूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रहेको छ भने सेञ्चुरी कमर्सियल बैंकको रू. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रहेको छ । यी दुई बैंक एक भएपश्चात् चुक्तापूँजी रू. २२ अर्ब २६ करोड २६ लाख १३ हजार पुग्नेछ । प्रभु बैंकले समान हैसियतमा सेञ्चुरी बैंकलाई प्राप्ती गर्न लागेको हो ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार १७:२६