सहकारीमा स्वस्फूर्त एकीकरण अभियानः ११ संस्था एकीकरण सम्झौतामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

सहकारीमा स्वस्फूर्त एकीकरण अभियानः ११ संस्था एकीकरण सम्झौतामा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सहकारी संस्थाहरु स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका छन् । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त रुपमा एकीकरणमा जान थालेका हुन् ।

शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

त्यस्तै तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकी स्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसार स्थित माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वर स्थित सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोड स्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोड, ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती समेत भएको छ ।

एकीकरणपछि संस्थाको ४१ हजार सदस्य हुनेछन् भने कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५.५ करोड, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१.५ करोड र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने प्रस्तावित अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिए ।

सहकारी संस्थालाई दीगो र सक्षम संस्था बनाउने उद्देश्य सहित एकीकरण सम्झौता गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । बिष्ट हालको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा सम्पन्न गर्ने समेत सम्झौता भएको छ । शुक्रबार मात्रै ९ वटा सहकारी संस्था र गत शनिबार ५ वटा सहकारीले एकीकरण सम्झौता गरेका थिए ।

प्रकाशित : १९ भदौ २०७९, आइतबार ०६:४५ 4 September, 2022 6:45 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।