काठमाडौं । अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ ।
निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो ।
अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।
यसरी भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ । स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।
सरकारले नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको छ । बजेट विनियोजन गरेसँगै प्रहरीले चुनावी तयारी थालेको हो । त्यस्तै अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटिसकेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका लागि एक अर्ब २३ करोड ५० लाख तथा म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट अर्थ मन्त्रालयबाट छुट्याइएको हो । चुनावका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिनेछ ।
चुनावको समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । यो भत्ता सिपाहीका हकमा प्रतिव्यक्ति प्रतिदिन एक हजार दुई सय रुपैयाँ हुनेछ ।
अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले चुनावको मुख्य चार दिन प्रतिदिन तीन सय रुपैयाँका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् । नेपाल प्रहरीले चुनाव प्रयोजनार्थ एक सय ८० वटा गाडी किन्ने भएको छ । प्रहरीले चुनावका लागि कुल एक हजार चार सय ९४ वटा गाडी माग गरेको थियो । अर्थ मन्त्रालयबाट गाडी खरिदका लागि ७५ करोड रुपैयाँ बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ ।
प्रहरीले बढीमा ५० लाख रुपैयाँसम्मका गाडी खरिद गर्न पाउनेछ । चुनावमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको योजना छ । चुनावको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ ।
Comment