काठमाडाै । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् ।
पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान काम भइरहेको छ। चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्ने मन्त्री भुसालको भनाई छ ।चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको हो ।
केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।
चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए ।
प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाई छ । उनले दिउसोको समयमा भन्दा रातिको समयमा चार्ज गर्दा कम मूल्य लाग्ने बताए ।
प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ । खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।
Comment