हाइलाइफ फूडमा हाथवे र बिग इण्डष्ट्रिजको साझेदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हाइलाइफ फूडमा हाथवे र बिग इण्डष्ट्रिजको साझेदारी



काठमाडौं । एफएमसीजीको क्षेत्रमा चर्चित ब्राण्ड हाइलाइफ फूडमा हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिज रणनीतिक साझेदारको रुपमा प्रवेश गरेका छन् । सोमबार तीनवटा समूहबीच साझेदारी गर्ने विषयमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा हाइलाइफ फूडका प्रबन्ध निर्देशक प्रशान्त घिमिरे,बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिकाप्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरेका छन् । हाथवे र बिग इण्डष्ट्रिजको रणनीतिक साझेदारीले हाइलाइफ फूडले एफएमसीजीमा थप लगानी गर्ने छ ।

हस्ताक्षर कार्यक्रममा हाथवेका योगेश्वर शर्मा ढकालले खानाबाट चिनिएको ब्राण्डसँग साझेदारी गर्न पाउदा आफुहरुलाई खुसी लागेको बताए । ‘हरेक घरमा पुगेको ब्राण्डसँग साझेदारी गर्न पाउदा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने छौ,’ढकालले भने । हस्ताक्षर कार्यक्रममा बिग इण्डष्ट्रिजका अम्बिका प्रसाद पौडेलले हाइलाइफसँग साझेदारीले कृषि उत्पादन बढाउन सहयोगी हुने बताए ।

‘वित्तीय क्षेत्रमा काम गरेको हाथवे,कृषिमा काम गर्ने बिग इण्डष्ट्रिज र कृषिमा आधारित उद्योग चलाएको हाइलाइफले आयात प्रतिस्थापनमा केही भएपनि काम गर्ने छ,’पौडेलले भने । पौडेलले कृषिलाई समेटेर राष्ट्र निर्माणको काम गर्ने योजना अब अगाडि बढेको बताए । निकट भविष्यमा हाइलाइफ फुड पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणलाई सेयर निष्कासन समेत गर्ने जानकारी पौडेलले दिए ।

हस्ताक्षर कार्यक्रममा हाइलाइफ फुडका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले आफूहरुले रोपेको बिउ हाथवे र बिग इण्डष्ट्रिजको प्रवेशले ठूलो हुने भएको बताए ।

उनले भने ‘पारिवारिक रुपमा चलेको कम्पनी अब कर्पोरेट कल्चरमा चल्ने छ, अब वास्तविककाम सुरु भएको छ, हामीले जानेको ज्ञानमा हाथवे र बिग इण्डष्ट्रिजको विज्ञता थपिने छ, कम्पनी अब नयाँ ढंगको ऊर्जा लिएर अगाडि बढ्ने छ ।’

हाइलाइफ फुडका बजार व्यवस्थापक पंकज ज्ञवालीले हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिजको साझेदारीले हाइलाइफले एफएमसीजीमा नयाँ उत्पादन ल्याउने बताए।

त्रिपक्षिय साझेदारीपछि हाइलाइफमा तीन सदस्य विशेष समिति गठन भएको छ । विशेष समितिको संयोजकमा अम्बिकाप्रसाद पौडेल तथा सदस्यमा प्रशान्त घिमिरे र सन्दिप शाह चयन भएका छन् ।

हस्ताक्षर समारोहमा हाइलाइफ फुडका संस्थापक अध्यक्ष तुलसी घिमिरे,सञ्चालक नगेन्द्र घिमिरे,सञ्चालक पंकज ज्ञवाली,सञ्चालक लक्ष्मण घिमिरे,सञ्चालक बासुदेव भुसालको उपस्थिति रहेको थियो । हाथवे इन्भेष्टमेन्ट समुह र बिग इण्डष्ट्रिजको तर्फबाट लगानीकर्ता तथा सञ्चालकको सहभागिता रहेको थियो ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलवार १३:४९