संस्थाहरुलाई स्मार्ट बनाउने अभियानमा नेफ्स्कून « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बिशेष

संस्थाहरुलाई स्मार्ट बनाउने अभियानमा नेफ्स्कून



काठमाडौं । नेपालभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरु स्मार्ट बनाउने अभियान शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले दिगो वित्तिय सहकारीमार्फत समावेशी एवम स्मार्ट संस्था बनाउने ध्येय अनुसार काम गरिरहेको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलका अनुसार पाँचौ रणनीतिक योजनामा सबल र दिगो वित्तिय सहकारीहरुको साझा संजाल तयार गरी काम शुरु भइसकेको छ ।

‘अहिले हामी देशभरका संस्थाहरुलाई डिजिटलमैत्री बनाउने प्रक्रियामा छौं । तीन तहका सहकारीहरुमा स्मार्ट सर्भिस अन्तर्गत इन्टरप्राइज रिसोर्स प्लानिङ अनुसार काम गरिरहेका छौं । यसमा सहकारीको दैनिक कारोबारमा प्रविधिको प्रयोग, अन्तर सहकारी संस्थाहरुबीचको कारोबारलाई डिजिटललाइज गर्नेलगायतका कामहरु भइरहेका छन् । आउँदो कात्तिक २६ गतेपछि नेपालभरका बचत तथा ऋण सहकारी संस्थाहरु पूर्ण रुपले डिजिटलमैत्री बन्नेछन्,’उनले भने ।

नेफ्स्कूनले समावेशी एवम स्मार्ट सेवा शुरु गर्ने भनेर प्रविधिको क्षेत्रमा ‘इन्टरप्राइज रिर्सोस प्लानिङ’ बनाएर काम अघि बढाइसकेको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेल भन्छन्,‘यसको प्रमुख लक्ष्य भनेको सदस्यहरुलाई स्मार्ट सेवा प्रदान गर्ने हो । सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने हो । बचत तथा ऋण सहकारी संस्थाहरुले दिने सबैखाले सेवाहरु व्यवस्थित र पारदर्शी बनाउने हो । ७० प्रतिशत काम सकिएको छ । नेकोसप्लस सफ्टवेयरमा निर्भर रहेका संस्थाहरु परिमार्जित भएर थप स्मार्ट बन्नेछन् ।’


सरकारले मुलुकको अर्थनीतिमा सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा लिंदै सोही अनुसारको ऐन तथा कानूनहरु निर्माण गरेर प्रोत्साहित गर्ने काम गरेको अभियन्ताहरुको भनाइ छ । सोही अनुसार बैंककै मोडालिटीमा सेवा दिनका लागि संस्थाहरु उत्साहित देखिएका छन् । नेफ्स्कुन अध्यक्ष परितोष पौडेल डिजिटल च्यानल निर्माण गरेर संस्थाहरुलाई स्मार्ट बनाउने अन्तिम तयारीमा जुटिरहेको बताउँछन् । ‘हामी यतिबेला दिगो योजना निर्माण गरेर पेमेन्ट सर्भिस अपरेटरहरुलाई व्यवस्थापन, डाटा विश्लेषण व्यवस्थापन क्षेत्रमा प्रशस्त खोज अनुसन्धान गरेर काम अघि बढाएका छौं । पूर्वाधार विकासको काम गरिसकेका छौं र अब कात्तिक २६ गतेपछि संस्थाहरुलाई पूर्ण रुपमा डिजिटलमैत्री बनाउने छौं ।’

हुन पनि पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरु आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिसँग जोड्न विभिन्न उपायहरु अपनाएर काम पनि गरिरहेका छन् । सुरक्षित र गुणस्तरीय सफ्टवेयर, मोबाइल बैंकिङ सेवा, एटीएम सेवा, ट्यावलेट र मिस्टकल सर्भिस, क्यूआर कोडको प्रयोग, साकोस कनेन्ट जस्ता प्रविधिहरुलाई संस्थाहरुले प्राथमिकतामा राखेका छन् ।


वित्तिय कारोवारको क्षेत्रमा विकास बैंकहरुसंग प्रतिस्पर्धामा उत्रिएको सहकारी अभियानलाई सूचना र प्रविधिमैत्री बनाउन नेफ्स्कूनले गहन भूमिका खेल्नुपर्ने पूर्वअध्यक्ष ऋषिराज घिमिरेको बुझाइ छ । उनले नेफ्स्कूनको केही कार्यशैलीलाई सुधार गर्दै संस्थालाई समय सापेक्षित बनाउनुपर्ने बताउँछन् । छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिन सहकारी अब्बल बन्दै गएको नेफ्स्कुनका पूर्वअध्यक्ष डिबी बस्नेतको दाबी छ । ‘धेरै सहकारी संस्थाहरुले डिजिटल प्रविधिमार्फत बैकिङ सेवा दिन सक्षम भएका छन् । नेफ्स्कुनले त्यसलाई प्रोत्साहित गर्दै जानुपर्छ,’ बस्नेतले भने ।

संस्थाले आफ्ना सदस्यलाई दिने सेवा सुविधा डिजिटलमैत्री मात्र नभइ संस्थाको आन्तरिक सिष्टम पनि स्मार्ट बन्दै गएका छन् । सहकारी संघसंस्थाले नियामक निकायमा बुझाउनुपर्ने विवरण अनलाईनमार्फत पठाउने गरिन्छ । बार्षिक प्रगति प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र बचत तथा ऋण कारोबार गर्ने संस्थाले मासिक रूपमा पठाउनुपर्ने वित्तीय विवरण समेत अनलाइनमार्फत नै पठाउने गरेका छन् । अनलाइनमा आधारित सफ्टवेयर कोपोमिस भरपर्दो माध्यम बनेको छ । तर यसको पूर्ण कार्यान्वयनमा ध्यान पुग्न सकेको देखिदैन ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०५:३५