नेफ्स्कूनले ऐतिहासिक उपलब्धी हाँसिल गर्दै गएको छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बिशेष

नेफ्स्कूनले ऐतिहासिक उपलब्धी हाँसिल गर्दै गएको छ



नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले आफ्नो ३५औं स्थापना दिवससम्म आइपुग्दा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ । विशेषगरी सहकारीलाई साझा संजालका रुपमा विकास गर्नुपर्छ भन्ने ध्येय अनुसार काम भइरहेको छ । पाँचौं रणनीतिक योजना अनुसार द्रुत गतिमा काम भइरहेको छ ।

संविधानले नै राज्यलाई तीन तहमा विभाजन गरिसकेकाले सहकारीलाई पनि विभिन्न तह निर्धारण गरेर काम अघि बढाइसकेको छ । सबै तहमा आ–आफ्नै तरिकाले संचालन हुँदा अन्तर्राष्ट्रिय सिद्धान्त र मर्म मै समस्या आउने र सहकारी संचालन प्रक्रियामा समस्या आउने संभावना देखेर ‘सवल र दिगो वित्तिय सहकारीहरुको साझा संजाल’को परिकल्पना गरेर सोही अनुसार काम भइरहेको छ ।

दिगो वित्तिय सहकारीमार्फत समावेशी एवम स्मार्ट सेवा शुरु गर्ने भनेर प्रविधिको क्षेत्रमा ‘इन्टरप्राइज रिर्सोस प्लानिङ’ बनाएर काम अघि बढेको छ । यसको प्रमुख लक्ष्य भनेको सदस्यहरुलाई स्मार्ट सेवा प्रदान गर्ने हो । सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने हो । त्यसबाहेक प्रविधिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गर्ने नै हो ।

बचत तथा ऋण सहकारी संस्थाहरुले दिने सबैखाले सेवाहरु व्यवस्थित र पारदर्शी बनाउन यो नयाँ योजना हो । यसको ७० प्रतिशत काम सकिएको छ । आउँदो कात्तिक २६ गते यसलाई सार्वजनिक गर्नेछौं । यस्तो सिष्टम संचालनमा आइसकेपछि नेफ्स्कुन प्रविधिमैत्री बन्नेछ । किनकी अहिले नेकोसप्लस सफ्टवेयर मात्र संचालनमा छ ।

नेफ्स्कुनमा हामीले धेरै उपलब्धीहरु हासिल गर्दै आइरहेका छौं । पूँजी परिचालनको अवस्था हेर्दा नौं अर्बबाट बढेर २४ अर्ब पुगिसकेको छ । सदस्यता संख्या पनि ४५ सय पुगिसकेको छ । जिल्ला संघ साझेदारी कार्यक्रममा पनि २४ वटा जिल्लासँग सम्झौता गरेर कारोबार अघि बढीसकेको छ । जिल्ला बचत सहकारी संघ र प्रदेश बचत संघसँग पनि सम्झौता भइसकेको छ । नेकोसप्लस सफ्टवेयर पनि सात सयबढी संस्थाहरुले संचालन गरिरहेका छन् । प्रविधिमैत्री संस्था निर्माणमा यसले ठूलो सघाउ पुर्याएको छ ।
नेफ्स्कुनले सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ सूचना तथा संचारका क्षेत्रमा पनि पृथक रुपमा काम गरिरहेको छ । ‘साकोस आवाज’ अनलाइनबाट संस्थाहरुले धेरै सुविधा लिइरहेका छन् । विमा र विप्रेषणको काम आफैं गर्न नमिल्ने भएकाले दुईवटा कम्पनी सिटिजन लाइफ र आइएमइ लाइफसँग सम्झौता गरेर काम गरेका छौं । जसका कारण सदस्य संस्थाका सदस्यहरुको ऋण जोखिममा नपरोस भनेर त्यसलाई सुरक्षित गर्न विमामार्फत घनीभूत रुपमा भूमिका निर्वाह गरिरहेका छौं । आपूर्ति सेवाले संस्थाहरुलाई थप सहज भएको छ ।

सदस्य सेवा विभागले स्थरीकरण कार्यक्रम र स्थिरीकरण कोषलाई विधिवत रुपमा अघि बढाएर संस्थाहरुलाई सेवा दिनका लागि काम भइरहेको छ । ऐनको दफा १०३ अनुसार सम्पूर्ण कार्यविधि तयार गरी मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने भएकाले गत जेठ २७ गते मन्त्रीबाट घोषणा भइसकेको छ । यसले नियमित रुपमा काम अघि बढाइसकेको छ । सदस्य संस्थाहरुका लागि यो कोष कोशेढुंगाका रुपमा आएको छ । कोषमा आबद्ध भइसकेका संस्थाहरुले जुनै प्रकारका जोखिम भए उद्धार गर्न सक्ने व्यवस्था छ । हाल कोषमा २३६ वटा संस्था आबद्ध भइसकेको र ११ करोड ५० लाख रुपैंयाँ जम्मा भइसकेको अवस्था छ ।


सहकारीको दुई पाटो स्थरीकरण कार्यक्रम र स्थिरीकरण कोष नेफ्स्कुनको ऐतिहासिक उपलब्धी पनि हो । एशियाली स्तरमा रहेको एक्सीस लेभलको ब्रान्डिङ कार्यक्रममा ७८ वटा संस्था आबद्ध भए पनि नेपालबाट २४ वटाले ब्रान्डिङ पाइसकेकाले यसलाई अर्को ठूलो उपलब्धी मान्न सकिन्छ । पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रममा २४४ वटा संस्था आबद्ध हुनुलाई सामान्य मन्नु हुँदैन ।कर्ब्स कार्यक्रममा पनि ४४२ संस्था आबद्ध भइसकेकाले यसलाई ऐतिहासिक उपलब्धी ठानेका छौं । जसका कारण संस्थाहरु समस्या नपर्ने र सहज रुपमा संचालन हुनेमा विश्वास राख्न सकिन्छ ।

विशेष गरी बचत तथा ऋण सहकारी संस्थाहरु डिजिटलाइज हुँदै गएका छन् । स्मार्ट र व्यवस्थित बन्दै गइरहेका छन् । यद्यपी, विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसले संस्थाहरुमा संकट उत्पन्न भए पनि विभिन्न वैकल्पिक उपायमार्फत कामहरु प्रशस्त भएका छन् । दैवि प्रकोप र आपतकालिन घट्नाक्रमबाट संस्थाहरुलाई जोगाउन एशियाली ऋण महासंघ, विश्व ऋण परिषदको प्राविधिक सहयोग जुटाएर तरलता अभावलाई न्यून गराउन ठूलो भूमिका निर्वाह गर्ने अवसर मिलेको छ । तरलता आउन नदिन हर उपाय निकालेर नेफ्स्कूनले ऐतिहासिक उपलब्धी हासिल गरेको छ । (कुराकानीमा आधारित)

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०५:१९