काठमाडाैं । लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ । बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत् परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
आज सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत् परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले माथिल्लो मस्र्याङ्दी २, तीन सय २७ मेगावाट जलविद्युत् परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए ।
चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैतबाटै गृहकार्य गरिरहेको थियो ।
त्यसैगरी माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यस्थापनको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ ।
बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता Sustainable Infrastructure Investment Forum-2022 आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा सम्माननीय प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण-३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनाहरुलाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए । यसमा अर्थ, उर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रुपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभयो साथै सिमन्ट उद्योग परियोजनाहरु विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिहरुको अवलम्बन गर्न जोड दिए ।
ठूला पूर्वाधार निर्माणमा लगानी भित्र्याउन एवं परियोजना सहजीकरणमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र लगानी बोर्डको कार्यालयबाट सम्पादित कार्यहरुको उच्च मूल्यांकन गर्दै अझ गतिशीलताका साथ अगाडि बढ्न निर्देशन दिए ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन, परियोजना विकास, संस्थागत क्षमता विकास एवं साझेदारी लगायतका क्षेत्रमा भएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
परियोजनाहरुको विकास र सहजीकरणका सन्दर्भमा लगानी बोर्डको निर्देशन बमोजिम लगानी बोर्डको कार्यालय उच्च मनोबलका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर डीपीआर लगायतका काम गर्ने निर्णय गरेको छ ।
सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसका लागि अवधारणापत्र स्वीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनका लागि लगानी बोर्डले काम थाल्नेबारेमा पनि छलफल भएको बताए।





Comment