काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार बोर्डले एक कार्यक्रमको आयोजना गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
उक्त निति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बजार तथा बस्तु विनिमय बजारको व्यवस्थित विकासका लागि संस्थागत क्षमता अभिवृद्धि, बजारको सन्तुलन तथा विस्तार, नियमन निकायको भूमिका सशक्तीकरण र बजार पारदर्शिता तथा मेरिटवेश प्रणालीको विकास लगाएतका चार खम्बे नीति अनुरुप कार्यक्रम तय हुने बताएका छन् ।
त्यसैगरी, पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट एक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पुँजी तथा ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरामा बढाउने जनाएको छ । साथै साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मको विकास गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारी ऋणपत्रको स्वचालित कारोबार प्रणलीको विकास गर्न समन्वय एबं सहजीकरण गरिने भएको छ ।
त्यसैगरी निति तथा कार्यक्रममा बुक विल्डिङ प्रणाली दिगो एवम् पारदर्शी रुपमा सञ्चालनमा ल्याउनका लागि अन्तराष्ट्रिय रुपमा प्रयोगमा रहेको ‘अटोमेटेड इलेक्ट्रिक अक्सन सिस्टम’ तयार गरी दिगो र स्थापित कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याइने जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरले प्राथमिक निष्काशनमा शेयर आवेदन गर्न सक्ने गरी आस्वा तथा सि–आस्वा प्रणालीमा सुधार ल्याउने जनाएको छ ।
बार्डले सामुहिक लगानीकोष स्थापना गर्न चाहने संगठित संस्थाहरुबाट प्राप्त निबेदनहरुको अध्ययन गरी कोष दर्ता गरी निष्काशन अनुमती दिने तथा सुपरिवेक्षणको काम गर्न चाहनेलाई स्वीकृती दिने उल्लेख गरिएको छ ।
Comment