तेल उद्योगीको सकसपूर्ण व्यवसाय, १५ अर्ब लगानी जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तेल उद्योगीको सकसपूर्ण व्यवसाय, १५ अर्ब लगानी जोखिममा



वीरगञ्ज । भारतले खानेतेल आयातमा लाग्ने आयात शुल्क ४० प्रतिशतसम्म पुर्‍याएपछि नेपालको खानेतेल उद्योगमा धमाधाम लगानी थपियो । तेल आयातमा भारतले लिएको नीतिबाट फाइदा लिन साबिकका उद्योगले क्षमता विस्तार गरे । नयाँ उद्योग पनि खुले । यसले नेपालको खानेतेल उद्योगमा कम्तीमा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको उद्यमी बताउँछन् । ३० ओटा खानेतेल उद्योगमा उक्त रकम लगानी भएको खबर आजको आर्थिक अभियान दैनिकमा छ ।


अहिले आएर भारतले खानेतेल आयातमा लाग्ने शुल्क स्वाट्टै घटाएपछि नेपालको तेल उद्योगमा गरिएको लगानी संकटमा परेको छ । स्वदेशी उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्थे । अहिले भारतमा खानेतेल निकासी करीब ठप्प छ ।

नेपालमा अर्धप्रशोधित तेल आयातमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्छ । प्रशोधित तेल निकासी गरेपछि उक्त रकम फिर्ता पाइन्छ । भारतमा ४० प्रतिशतसम्म आयात शुल्क हुँदा नेपालबाट उल्लेख्य परिमाणमा तेल निकासी भइरहेको थियो । नेपालबाट खानेतेल आयात गर्ने भारतीय व्यवसायीले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को सहुलियतमा शून्यदेखि ५ प्रतिशतसम्म भन्सार तिरे पुग्थ्यो ।

भारतीय नीतिकै कारण पछिल्ला वर्षहरूमा नेपालबाट निर्यात हुने वस्तुको सूचीमा खानेतेल सबैभन्दा माथि रहँदै आएको छ । नेपालको निर्यातलाई १ खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने श्रेय पनि खानेतेललाई नै छ । आर्थिक वर्ष (आव) २०७७र७८ मा पहिलोपटक नेपालको वार्षिक निकासी १ खर्ब नाघेको थियो । उक्त वर्ष १ खर्ब ४१ खर्ब रुपैयाँभन्दा बढीको नेपाली वस्तु विदेश निर्यात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आवको कुल निकासीमा भटमास तेलको अंश ५३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी थियो । चालू आवको जेठसम्ममा ८५ अर्ब रुपैयाँभन्दा बढीको खानेतेल भारत निकासी भइसकेको छ ।

प्रकाशित : ३० असार २०७९, बिहीबार ०६:५५