काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारि तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव गरेकोमा संघले असन्तुष्टी व्यक्त गर्दै ज्ञापन पत्र बुझाएको हो ।
आफुसँग छलफल नै नगरी संसोधन प्रस्ताव गरिएकोले उक्त संसोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा हाल रहेका ब्रोकर व्यवसायिहरुको हितमा छ भन्ने कुरामा विश्वस्त हुन नसकिने ज्ञापनपत्रमा उल्लेख छ ।
त्यसैगरी भौगोलिक रुपमा बजार तथा सेवाको बिस्तार हुन नसकेको भन्ने तथ्यहिन आरोप लाग्ने गरेको उनिहरुको भनाई छ । धितोपत्र दलाल व्यवसयिको संख्या वृद्धिको प्रावधानलेदसकौं देखि कायम निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको महसुस गरिएको ज्ञापनपत्रमा उल्लेख छ। साथै यसबाट ब्रोकर व्यवसायि अत्यन्तै चिन्तित र दुखि भएको पनि उल्लेख छ ।
बिगत तिन दशकदेखि बजारको सारथीका रुपमा रहेका ब्रोकरले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालीको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दे आइरहेको उनीहरुकोे भनाई छ । साथै बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको गुनासो गरेका छन् ।
शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएको हुँदा ब्रोकरलाई लगाइएको आरोप र आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्च मात्र भएको उनीहरुको भनाई छ । नियामककै अनिच्छाले गर्दा मार्जिन कारोबारको कार्यबिधि लागु भए पनि अगाडि बढाउन नसकिएको दाबी समेत गरेका छन् ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको बिकासशिल देशमा बिस्वका अति विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यव्सायीको पुँजी कयौं गुणाले उच्च राख्न लागाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिना नै हचुवाको भरमा अल्पदृस्टि राखि निर्णय गरेको आरोप ब्रोकरहरुको छ । गुणात्मक रूपमा बढी पुँजी कायम गर्न लगाउनुले पनि धितोपत्र बोर्डको हालको नेतृत्व धितोपत्र व्यवसायीहरुप्रति पुर्वाग्रही रहेको एसोसिएसनको भनाई छ ।
धितोपत्र दलाल व्यवसायको जोखिम ब्यवस्थापनका लागि अपरिहार्य अङ्गको रुपमा रहेको निक्षेप सदस्य व्यवसाय खोस्न खोज्नुले नियामकले आजसम्म धितोपत्र दलाल व्यवसाय र यसमा निहित जोखिमनै नबुझेको आरोप समेत लगाएका छन् ।
एसोसिएसनले आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायीहरुलाई व्यवसाय छोडन बाध्य पार्ने बताएको छ ।
अन्य उत्पादनमुलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सीमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र क्षमतावान टिक्ने नाममा सीमित समुहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सृजना भइ समग्र बजार नै असन्तुलित हुन जान ब्रोकरहरुको भनाई छ ।
उनीहरुले हाल अर्थमन्त्रालयमा बिचाराधिन रहेको यस मस्यौदामा धितोपत्र दलाल व्यवसायीको पनि राय सुझाव समेटिने गरि पुनः छलफल चलाउन आवश्यक रहेको भन्दै उक्त मस्यौदा पुनः बोर्डमा नै फिर्ता ल्याई गहन अध्ययन गराई सम्बन्धित पक्षको राय सुझावका आधारमा अघि बढाउन अनुरोध गरेको छ ।
Comment