नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्धारा पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्धारा पदभार ग्रहण



काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आषाढ १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंक लिमिटेडकोे मिति असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ इयर विधामा पुरस्कृत भएका थिए ।

कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए । उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । यस नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानाज्यूलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार १०:४५