लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्धः अर्थ मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्धः अर्थ मन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पुँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पुँजीबजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरुलाई निर्देशन पनि दिएका छन् ।

‘पुँजीबजार सम्बन्धि ज्ञान र बित्तीय साक्षरता हुनुपर्यो । तालिम दिन जनशक्ती परिचालन गर्नुपर्यो’ उनले भने, ‘अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुँजीबजारका बारेमा बुझाउने कुरामा कमी भएको छ ।’


पुँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नविन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार संचालन हुनुपर्नेलगायतका बिषयमा उनले जोड दिएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराए । आगामी आबको बजेट बक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका बिषयहरु उल्लेख छन् ।


धितोपत्रको दोस्रो बजारमा गैरआवासिय नेपालीलाई लगानी खुल्ला गर्न कानूनी व्यवस्था गर्ने, बैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने, एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काश गर्ने गरी सुचिकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १५:४३