बजेट भाषण दिउसो ४ बजे हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट भाषण दिउसो ४ बजे हुदै



काठमाडौं । सरकारले आज आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० बजेट सार्वजनिक गर्दै छ । आज अपरान्ह ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

सभामुख अग्नि सापकोटाले सबै सांसदहरुलाई ३:४५ बजे नै आ-आफ्नो सिटमा बसीसक्नको लागि निर्देशन दिईसकेका छन् । बजेट प्रस्तुत गर्नु अघि मन्त्रिपरिषद्को बैठक बस्ने छ। बैठकले बजेट पारित गरेपछि संसदमा पेश हुने छ । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/ २०८० को राजश्व आय र खर्चको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ ।

उच्च आयात, बढ्दो वैदेशिक ऋण र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकालाई कम गर्न आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । आगामी आवको बजेटलाई लोकप्रिय बनाउन सरकारले कर्मचारीको तलब वृद्धि, वृद्ध भत्ता वृद्धि, व्यक्ति गत आय आकार बढाउने जस्तो कार्यक्रम समावेश गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सीमालाई बढाउन निजी क्षेत्रबाट आएको दवावलाई सम्बोधन गर्ने अनुमान गरिएको छ । निजी क्षेत्रले व्यक्तिगततर्फ १० लाखसम्म पुर्याउन सुझाव दिएका छन ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकमा पहिल्यै उक्त आयोजनालाई प्रविष्ट गराउनुपर्ने व्यवस्थाअनुरुप बजेट कार्यक्रम तथा आयोजना तय गर्न सुझाव दिएको छ । नेपालले ५ वर्षको तयारीपछि सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन सहयोग गर्ने गरी कार्यक्रमलाई समेत प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगले सुझाव दिएको छ ।

बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १०:४४