काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छिन् । मन्त्रालयमा सोमबार भएको छलफलमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन् ।
छलफलमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै मंगलबारदेखि नै आपूर्ति सहज हुने विश्वास दिएकी छिन् । उनले भनिन्, “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”
विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरेकी छिन् । मन्त्री भुसालले भनिन्, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”
यता, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरेका छन् । उनले भने, “अहिलेको समस्या दुईचार दिनको हो, आत्तिनु पदैन, छिट्टै समाधान हुन्छ ।” छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए ।
Comment