यस्ता छन् सिर्जना सिंहले अघि सारेका सात संकल्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

यस्ता छन् सिर्जना सिंहले अघि सारेका सात संकल्प



काठमाडाैं। सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी सृजना सिंहले सृजना सिंहका सात ‘स’ को संकल्प सार्वजनिक गरेकी छिन् । सिंहले आज एक कार्यक्रम गर्दै आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् ।

सिंहले विभिन्न ७ वटा विधा विभिन्न कार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले आफ्नो संकल्पको पहिलो प्राथमिकतामा सेवा र सुशासनलाई राखेकी छिन् । बिहीबार संकल्सपत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसकी नेतृ सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताएकी छन् ।

महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफूले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताइन् । सिंहले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताइन् ।

उनले भनिन, ‘म सबैभन्दा पहिला केबाट सुरु गर्न चाहान्छु भने, मेयर भनेको काठमाडौंको एकदमै ठूलो पद हो । मेयर हुँदै गर्दाखेरी मैले भन्नैपर्छ, म मेयर भइसकेपछि सबैभन्दा म सुशासनतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ । जब घर नै सफा छैन् भने, घर नै प्रदुषित छ । घरभित्रै फोहोर छ भने कसरी मैले सुशासन दिन सक्छु ? त्यसकारण म मेयर भएपछि सबैभन्दा पहिला मैले महानगरभित्र भ्रष्टाचारमुक्त सेवा र सुविधा तुरुन्त हुने गरेर चुस्त र दुरुस्त पार्नेछु भनेर म सम्पूर्णलाई विश्वस्त दिलाउन चाहान्छु ।’

आफ्नो सात ‘स’को संकल्पपत्र सार्वजनिक गर्दै सिंहले महानगरलाई विधिको शासन, नियम, कानूनभित्र रहेर चलाउने बताइन् । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको भनाई थियो ।

विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने, काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने, पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गर्ने सिंहको भनाई छ ।

उनले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने, विपद थेग्नसक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने, महानगरभित्रको संस्कृतिलाई पर्यटनसँग जोड्ने, गुठी प्रणालीको संरक्षण र प्रवद्र्धन गर्ने, सहजरुपमा हिडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका बनाउने, पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गर्ने बताइन् ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १६:५१