आवेशमा आएर पार्टीलाई नटेर्नेहरू पछि अप्ठेराे पर्ने छन्ः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

आवेशमा आएर पार्टीलाई नटेर्नेहरू पछि अप्ठेराे पर्ने छन्ः गगन थापा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी गठबन्धनबारे पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन । गठबन्धनका दलहरूबीच चुनावी तालमेलका विषयमा पार्टीभित्र केही बहस र विवाद रहे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताए ।

नेपाली कांग्रेसको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले भने-‘यो पटक विशेष अवस्था बनेको छ । केही समयअघि कांग्रेसले गठबन्धन गरेर सरकार बनायो, गठबन्धनमा रहेका दलको बीचमा कैयौँ ठाउँमा चुनावी तालमेल भएका छन् । यो ठिक हो कि होइन भनेर पार्टीभित्र मतभिन्नता र सङ्घर्ष भएका छन्, यो पछिसम्म पनि रहन्छ । तर हामी सबैले दलको निर्णय मान्नुपर्छ’, उनले भने ।

महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धन गरे पनि अरू पालिकामा स्थानीय सङ्गठनले नै निर्णय गरेकाले पार्टीको निर्णय मान्न थापाले निर्देशन दिए । ‘कांग्रेस एक्लै चुनावमा जाँदा त कैयौँ योग्य साथीहरू उम्मेदवारीबाट वञ्चित हुनुभएको छ, त्यो माथि अहिले तालमेल हुँदा धेरै योग्य साथीहरू छुट्नुभएको छ, विरोधको भाव आउनु स्वाभाविक हो तर पार्टीको निर्णय त सबैले मान्नुपर्छ’, उनले भने ।

महामन्त्री थापाले अहिले आवेशमा आएर पार्टीलाई नटेर्नेहरूलाई पछि अप्ठेराे पर्ने चेतावनी समेत दिए । पार्टीभित्र भएको विभेदको एक–एक हिसाब हुन्छ तर अहिले चुनाव जित्ने गरी अभियानमा लाग्नुपर्छ, पार्टीको निर्णयभन्दा बाहिर गएर उम्मेदवारी दिँदै गर्दा राम्रो हुँदैन, अहिले आवेशमा आएर पार्टीको निर्णय नमानेर बाहिर जाने साथीहरूलाई पछि पार्टीमा फर्किएर काम गर्न गाह्रो छ, बेलैमा साथीहरूले सोच्नुहोला’, थापाले भने ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार १६:५६ 27 April, 2022 4:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।