काठमाडौ ।पाँचतारा साकोसले पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट ३ जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्व एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा भएको १४ औं वार्षिकोत्सव कार्यक्रममा ३ जना सहकारी अभियन्तालाई सम्मान गरिएको हो ।
पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७७ बाट जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाल र पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७८ बाट नेफ्स्कुनका पूर्व अध्यक्ष एवं महासंघका सञ्चालक डिबी बस्नेतलाई कार्यक्रममा ताम्रपत्र, दोसल्ला र जनही ११ हजार १११ नगदसहित सम्मानित गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि झाँक्रीले उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेकी थिइन् । संस्थाले २०७६ र २०७७ मा क्रमश कँडेल र लिम्बुलाई सम्मान गर्ने घोषणा त्यसैबेला गरेको भएपनि कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्ने बातावरण नभएकाले संस्थाले १४ औं स्थापना दिवसको अवसरमा तीनैजनालाई सम्मान गरेको हो ।
सहकारी अभियानमा लागेर समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा सक्रिय भूमिका खेलेको भन्दै संस्थाले उनीहरुलाई सम्मान गरेको हो । यस अघि पनि संस्थाले सहकारी अभियानका अग्रजहरुलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भोलानाथ पाठकले अग्रजको सम्मानका लागि आफुहरुले संस्था स्थापना भएदेखि नै सम्मान कार्यक्रमलाई निरन्तर गर्दै आएको बताए । सहकारी क्षेत्रमा लागेर आम सदस्य र समुदायको उन्नतिकालागि आफ्नो जीवन व्यतित गर्ने अभियन्ताहरुको कामको कदर गर्ने उद्देश्यले हरेक वर्ष स्थापना दिवसको अवसरमा फरक व्यक्तित्वलाई सम्मान गर्दै आएको उनले बताए । संस्था स्थापना हुँदाको बेला स्मरण गर्दै उनले शुरुका वर्षमा बाटोमा पाल टाँगेर वार्षिकोत्सव मनाएको उल्लेख गरे ।
पाँच तारा शुरु गर्दा त्यस क्षेत्रमा ४०/५० घरधुरी रहेको र कुनै पनि बैंकको शाखा नभएकाले बैंकिङ सेवा लिन कोटेश्वर पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि संस्था शुरु गरिएको बताए ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष विजया मल्लले शुभकामना मन्तब्य राखेकी थिइन् भने संस्थाले हरेक वर्ष सहकारी दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएर नियमित रुपमा ५ र १० पटक रक्तदान गरेका व्यक्तिहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि दिपक प्रकास बाँस्कोटाले २०७९ सालको क्यालेण्डर र संस्थाको स्मारिका विमोचन गरेका थिए ।
Comment