बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधारतर्फ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधारतर्फ



काठमाडौं ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

आज सार्वजनिक तथ्यांक अनुसार बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधारतर्फ अगाडि बढ्दै गएको राष्ट्र बैंकले प्रकाशन गरेको सूचांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्गक अनुसार आर्थिक बर्ष २०७८/ ७९ को आठ महिनाको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४‍‍‍.१ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ प्रतिशतले बढेको थियो । सोमबार अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन मार्फत अर्थतन्त्र धराशायी स्थीतीमा नरहेको र सुधार हुँदै जाने बताएका थिए । केन्द्रिय बैंकको आज प्रकाशित तथ्यांकले समेत अर्थतन्त्रमा थप सुधार आउने अवस्था रहेको मान्न सकिन्छ ।

यस तथ्या‌ङकलाई आधार मानेर हेर्दा बैंक तथा बित्तिय क्षेत्रमा देखिएको तरलता अभाव केहि हदसम्म सुधार भएको मान्न सकिन्छ । वार्षिक बिन्दुगत आधारमा २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ प्रतिशतले बढेको छ ।

२०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, २९.१ प्रतिशत र ५५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.४ प्रतिशत, ३४.५ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

२०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.८ प्रतिशत रहेको छ भने २०७७ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४२.१ प्रतिशत रहेको थियो । त्यसैगरी कर्जा प्रवाह पनि सकारात्मक विन्दुतिर गएको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । आर्थिक बर्षको आठ महिनाको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४ प्रतिशतले बढेको थियो ।


वार्षिक बिन्दुगत आधारमा हेर्दा भने २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.४ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.४ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.१ प्रतिशतले र हायर पर्चेज कर्जा ५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४१.९ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ९.९ प्रतिशतले घटेको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १७:००