क्यान इन्फोटेक आगामी बैसाख ७ देखि हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

क्यान इन्फोटेक आगामी बैसाख ७ देखि हुने



काठमाडौं । क्यान इन्फोटेक २०२२ आगामी बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएकाे छ । साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ । ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण हो । यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौंमा मात्र हुने भएको छ । गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।
विगतका वर्षहरूमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोभिड–१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमइ बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमइ जनरल ईन्स्युरेन्स रहेका छन् । क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ -गभर्नेन्स मुख्य हुने जनाएकाे छ ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि सम्बन्धि अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।


आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।


यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।


त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोहि संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं । यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमइ पेले व्यवस्थापन गर्ने महासचिव नारायण थापाले जानकारी दिए ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १३:१९