गरिमा क्यापिटलकाे काराेबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा क्यापिटलकाे काराेबार सुरु



काठमाडौ ।गरिमा विकास बैंकले पनि मर्चेन्ट बैंकिङ काम सुरु गरेको छ । बैंकले केसीएल अस्ट्युटको ५१.२० प्रतिशत सेयर खरिद गरी सोमबार देखि गरिमा क्यापिटलको नामबाट सेवा सुरु गरेको हो ।

बैंकले ११ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको केसीएलमा १२ करोड ३९ लाख रुपैयाँ पुँजी थप गरी ५१.२० प्रतिशत सेयर खरिद गरेको हो ।

बैंकले खरिद गरेपछि गरिमा क्यापिटलको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ पुगेको छ ।

गत असार पहिलो साता गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको थियो ।

केसीएलको बहुमत सेयर स्वामित्व खरीद गर्ने समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटलका तर्फबाट अध्यक्ष दिपक पाण्डेयले गत असार ४ गते शुक्रबार हस्ताक्षर गरेका थिए ।

गरिमा विकास बैंकले बहुमत सेयर किने पछि केसीएल अस्ट्यूट क्यापिटललाई गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा अगाडि बढाइने सम्झौता भएको थियो । सोही अनुसार क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिएको हो । सबै प्रकृया पूरा भए पश्चात कम्पनी रजिष्ट्रारको कार्यालयले चैत ७ गते केसीएल अस्ट्युट क्यापिटलको नाम गरिमा क्यापिटल बनाउन स्वीकृति दिएको थियो ।

गरिमा क्यापिटलले आगामी दिनमा सेयर रजिष्ट्रार, अण्डर राइटर, निष्कासन तथा बिक्री प्रबन्धक, सामूहिक लगानी कोषको व्यवस्थापक लगायतका काम गर्ने कम्पनीका अध्यक्ष दिपक पाण्डेले बताए । पूँजीका हिसाबले तेस्रो ठूलो मर्चेन्ट बैंकर गरिमा क्यापिटलले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटलमा पनि काम गर्ने योजना रहेको जानकारी उनले दिए ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार २०:४३