काठमाडौँ महानगरपालिकाका सहकारीमा चरम बेथितिः साना बचतकर्ता ठगिने क्रम बढ्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

काठमाडौँ महानगरपालिकाका सहकारीमा चरम बेथितिः साना बचतकर्ता ठगिने क्रम बढ्दो



काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ। सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो। जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ। पछिल्लो समय काठमाडौँ महानगरपालिका सहकारी विभागमा सहकारी बचतकर्ताहरु आफु ठगिएको गुनासो सहित उजुरी लिएर आउने संख्या भने बढ्दै गएको छ ।

३२ सहकारीलाई कारबाही गर्न प्रहरीलाई पत्र

विभागले सदस्यको बचत फिर्ता गर्न आलटाल गरेपछि ३२ वटा संस्थालाई कारवाहीका लागि प्रहरीमा लेखिपठाएको जानकारी दिएको छ । ति सहकारी संस्थाका १ हजार ४०१ बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो सहितको निवेदन विभागमा दिएका थिए । ति सहकारीले सदस्यको ७४ करोड २५ लाख ९६ हजार ४ सय ८२ रुपैया बचत फिर्ता गर्न अटेर गरेका हुन् । विभागले पटकपटक ती संस्थाका सञ्चालकहरुलाई सदस्यको बचत फिर्ता गर्नका लागि ताकेता गर्दा पनि आनाकानी गरेपछि कारवाहीका लागि प्रहरीमा लेखिपठाएको विभागकी उपनिर्देशक विमला कोइरालाले जानकारी दिइन् ।

कोइरालाका अनुसार प्रहरीमा उजुरी लेखाइएका सहकारीहरुमध्ये आनन्दनगर साकोसका सबैभन्दा बढि सदस्य रहेका छन् । सो सहकारीका १ हजार ४९ सदस्यको १४ करोड ६० लाख ८६ हजार रकम सञ्चालकले हिनामिना गरेको सदस्यले उजुरी गरेका छन् । त्यसैगरी जनजीविका साकोसले ३५ करोड १९ लाख १४ हजार, स्वतन्त्र शान्ति साकोसले २ करोड ५८ लाख ९३ हजार, बिजनेस साकोसले २ करोड ५८ लाख रकम हिनामिना गरेको उजुरी परेको छ । सदस्यहरुको बचत हिनामिना गर्ने अधिकांश सहकारीहरु बचत ऋण सहकारी रहेका छन् ।

कारबाहीका लागि प्रहरीमा लेखि पठाइएका सहकारीहरु

५० वटा संस्थालाई कार्यालयबाटै मिलापत्र

सहकारीबाट बचत फिर्ता नपाएको गुनासो सहित उजुरी गर्ने सदस्यहरु विभिन्न वर्गका रहेका छन् । जसमा, धेरैजसो ब्यापारीहरु रहने गरेको छन् भने ज्याला दारी काम गर्ने र सोहि संस्थामा काम गर्ने कर्मचारीहरु पनि रहेका छन्। आएका उजुरीमा दुवै पक्षलाई राखेर बचत फिर्ता गराउन आफुहरु सक्रिय रहेको उपनिर्देशक कोइरालाले जानकारी दिइन । उजुरी आएका सहकारी मध्ये विभागले हालसम्म ५० वटा संस्थालाई कार्यालयबाटै मिलापत्र गराएको उपनिर्देशक कोइरालाले जानकारी दिइन् ।

विभागले ऋणीहरुबाट पैसा उठाइदिने र बचतकर्तालाई रकम फिर्ता गर्न समन्वय गर्दै आएको छ । हाल काठमाडौँ महानगरपालिकामा १ हजार ९ सय सहकारी दर्ता भएको तथ्यांक छ । ति मध्ये बर्षेनी प्रतिबेदन बुझाएर साधारण सभा गर्ने सक्रिय सहकारीहरू ८ सय ३० रहेका छन् ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहीबार १३:४५