टेलिकमलाई फोरजीको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टेलिकमलाई फोरजीको अनुमति



4gकाठमाडौं,  १८ असोज  । नेपाल टेलिकमले चौथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) चलाउने अनुमति पाएको छ । दूरसञ्चार सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई आइतबार १ हजार ८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा यस्तो सेवा चलाउन अनुमति दिएको हो । दुई महिनाअघि संसोधित दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीती–२०७३ अनुसार प्राधिकरणले टेलिकमलाई अनुमति प्रदान गरेको हो ।

संसोधित नीतिमा सरकारले पहिलो पटक दूरसञ्चार कम्पनीहरुले चलाइरहेको पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ प्रविधि चलाउन दिने व्यवस्था गरेको थियो । पहिलेकै ब्यान्डमा नयाँ प्रविधि चलाउन मिल्ने व्यवस्थालाई प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) भनिन्छ ।

‘१ हजार ८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड सुविधाजनक भएकाले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीती–२०७३ को दफा ५ (क) अनुसार प्रविधि तटस्थतामा फोरजी सेवा चलाउन अनुमति दिइएको छ,’ प्राधिकरणले दिएको अनुमतिपत्रमा भनिएको छ । अनुमतिपत्रमा नीति अनुसार फोरजी सेवा सञ्चालन सम्बन्धी कार्ययोजना पेस गर्न टेलिकमलाई सात दिने म्याद दिइएको छ । यसैगरी कहिलेदेखि फोरजी सेवा चलाउन सकिन्छ त्यसको जानकारी समेत दिन टेलिकमलाई निर्देशन दिइएको छ । आजको कान्तिपुर दैनिकबाट ।

प्रकाशित : १८ आश्विन २०७३, मंगलवार ०३:०१