राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले हस्ताक्षर गरे ।

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रमा हुने जोखिम तथा सम्भावनाको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए ।

उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यर्थाथपरक रुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा प्रदान गर्ने बताए । त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागले माग गरी प्राप्त प्रस्तावमध्ये उत्कृष्ठ पाँच प्रस्तावलाई छनौट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीलाई सहयोग रकम उपलब्ध गराइने बताए ।

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीलाई ४० हजार रुपैयाँदेखि बढिमा एकलाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए । उक्त समारोहमा त्रिविअर्थशास्त्र केन्द्रीय विभागका प्रा. ताराप्रसाद भुषाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेललगायत कर्मचारीको उपस्थिति थियो ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार ११:५३