संसदमा एमसीसीबारे छलफलको तयारी, अर्थमन्त्री शर्मा स्काइ क्याफेमा रमाउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसदमा एमसीसीबारे छलफलको तयारी, अर्थमन्त्री शर्मा स्काइ क्याफेमा रमाउँदै



बाग्लुङ। संसदमा अमेरिकी सहयोग परियोजना(एमसीसी)बारे छलफल हुने दिन विहीबारअर्थमन्त्री जनार्दन शर्मा प्रभाकर बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफे पुगेका छन् । उनले त्यही बसेर बसेर खाजा खाएका छन् ।

कालीगण्डकी नदि खोँचमा नदिदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर आनन्द लिएका हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन अर्थमन्त्री शर्मा पर्वत पुगेका हुन् । फागुन ५ गते एमसीसी प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूचीमा पनि अर्थमन्त्रीको नाम थियो तर उनी अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए । विहीबार पनि एमसीसीबारे संसदमा सामान्य छलफल मात्र हुने भन्दै उनी अनुपस्थित हुने जनाइएको छ ।

विहीबार संसदमा एमसीसीबारे छलफल गर्ने सम्भावित कार्यसूची रहे पनि अर्थमन्त्री शर्मा संसदमा उपस्थित हुने छैनन् । उनी विहीबार २ बजेसम्म पर्वतमै रहने र ४ बजे पोखराबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहीबार १३:३३