निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बीमा गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बीमा गर्ने



काठमाडाैं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बीमा गर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बीमा गरिन लागिएको हो। सामूहिक दुर्घटना बीमा २० लाखको रहनेछ।

आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ। बीमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बीमा कम्पनीमार्फत् बीमा गर्नेछ। ५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ।

आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बिमा हुँदैछ। जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन्।

त्यस्तै, ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको मात्र हुनेछ।

९४ हजार कर्मचारीको १५ दिने बिमा हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुनेछ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार १२:२८