हिमालयन बैंकको साधारणसभा पुस ३० गते, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको साधारणसभा पुस ३० गते, यस्ता छन् एजेन्डा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस ३० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ९ गतेको सञ्चालक समितिको बैठले बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंबाट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्षका लागि प्रस्ताव गरेको कुल २६ प्रतिशत लाभांश प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।

गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यी प्रस्तावहरुसँगै सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर प्रकृयाका लागि तय भएको १ बराबर १ शेयर आदानप्रदान अनुपातलाई पनि स्वीकृति प्रदान गर्नेछ । दुबै बैंकको मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड नामाकरण गरी एकिकृत कारोबारका लागि स्वीकृति समेत सभाले प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ११ पुष २०७८, आईतवार ११:१५